दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालकै सहमति विना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताएका छन् ।
शनिबार घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न अंग भएको दोहोर्याउँदै सहमति विना प्रयोग गर्ने कुनै पनि प्रयत्न अस्वीकार्य हुने स्पष्ट पारे।
“दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति विना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ। नेपालको सहमति र सहभागिता विना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ,” पोखरेलले भने ।
उनले तथ्य र प्रमाणका आधारमा मात्र सीमा विवाद समाधान गर्न सकिने भन्दै सुगौली सन्धि (सन् १८१६) अनुसारकै सीमा वास्तविक सीमा भएको दाबी गरे ।
सरकारको कार्यक्षमता र उपलब्धिबारे टिप्पणी गर्दै महासचिव पोखरेलले अहिलेको सरकार अघिल्लो तुलनामा सफल देखिएको दाबी गरे ।
“राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ। विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजना अघि बढेका छन् र संघीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन्,” उनले भने ।
यस अवसरमा पोखरेलले पार्टीको दोस्रो विधान महाधिवेशन भदौ २१, २२ र २३ गते हुने जानकारी दिए । महाधिवेशनमा राजनीतिक, संगठनात्मक तथा विधान संशोधनसहित तीन प्रस्तावमाथि छलफल हुने उनले बताए । उनका अनुसार साढे ६ लाख सदस्य छलफल प्रक्रियामा सहभागी हुनेछन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने चर्चा सम्बन्धमा सोधिएको प्रश्नमा उनले त्यसलाई उचित नरहेको टिप्पणी गरे ।
“पूर्व राष्ट्रपती जस्तो सम्मानित व्यक्तिलाई कुनै गतिविधि गर्न नदिएर घरभित्रै बन्धक बनाउनु हुँदैन। सामाजिक जीवनका क्रियाकलापमा सक्रिय हुन रोकावट छैन। तर राजनीतिक सक्रियता भने उपयुक्त हुँदैन,” पोखरेलले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्