काठमाडाैँ । हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको छ ।
कोषले आइतबार पत्रकार सम्मेलन गर्दै मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्णरूपमा सवारी निषेधित क्षेत्र बनाउनको लागि ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भूवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिए ।
दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने उनकाे भनाइ छ । उनले यस वर्ष लाखौं महिलाहरु पशुपतिनाथको दर्शनका लागि आउने भएकाले आवश्यक सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिनुका साथै भिड व्यवस्थापनका लागि स्वयंसेवक, स्काउट, रेडक्रसका टोलीहरु समेत खटाइने जानकारी दिए ।
तीजको दिन भक्तजनलाई गुठीटोल, उमाकुण्ड, दक्षिणमुखी, रसगुलोचोक, वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गराइने तथा दक्षिण ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको उनले उल्लेख गरे । उनका अनुसार मृगस्थली–जयवागेश्वरी–पशुपति मार्ग हुँदै दक्षिणतर्फ प्रवेश गरी पश्चिमतर्फबाट निस्कने व्यवस्थासमेत गरिएको छ ।
ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र अपांगता भएका महिलालाई प्राथमिकतामा राखी सहजीकरण कोषको योजना रहेको जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस्