मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्न नहुने बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित सांस्कृतिक र रचनात्मक अर्थतन्त्रको प्रवद्र्धन सम्बन्धी कार्यक्रममा उनले मौलिक संस्कृति र पहिचानतिर फर्केको अवस्थामा मात्रै समाज सभ्य, शान्त र खुशीमा आधारित समाज निर्माण हुने बताएका हुन्। संस्कृति नै संसारभरी शान्तिको सन्देश फैलाउन सक्ने रणनिति र सामरिकी शक्ति भएको उनको भनाइ छ । 

मानव समाज र सभ्यतालाई समुन्नत बनाउन युनेस्को लगायतका संस्थाहरुले प्रयत्न गरिरहेको बताउँदै मन्त्री पाण्डेले भौतिक विकासको होडबाजीले मात्रै मानव सभ्यतालाई शान्त बनाउन नसक्ने बताए । हरेक समुदायमा रहेका संस्कृतिका आयाम र पहिचानको संवेदनशीलतालाई एक अर्को समुदायले बुझेको खण्डमा मात्रै मान्छेले मानवलाई बुझ्ने उनको भनाइ छ । 

मन्त्री पाण्डेले पछिल्लो दिनमा नेपालमा गुरुकुलहरुको स्थापना हुन थालेको बताए । यसले हाम्रो ज्ञानको विरासतको खोजी गरिरहेको उनको भनाइ छ । पाण्डेका अनुसार विहारहरु संचालन हुन थालेको  छ ।

गुरुकुल र विहारप्रति आर्कषण बढेकोले यसले हाम्रो ज्ञानको अर्को कालखण्डको खोजी, अमुर्त सम्पदाको खोजी, अभौतिक सम्पदाको खोजी गर्ने प्रारम्भ गरेको छ ।  विहावारीमा लगाउने दौरा सुरुवाल कोट, नेवार समुदायले प्रयोग गर्ने हाकुपटासीको प्रचलन अहिले बढ्न थालेको उनले बताए । 

उनले हस्तकलासंग जोडिएका हाम्रो पहिचान, मौलिकतालाई संरक्षण र प्रवद्र्धन गर्दै यसलाई श्रमसंग जोड्नुपर्नेमा जोड दिए ।   मन्त्री पाण्डेले पाल्पाको र तेह्रथुमको ढाकाटोपीको उद्यम पनि अहिले बढ्न थालेको बताउँदै यसले हामीलाई हाम्रा संस्कृतितिर फर्काउने र संस्कृतिलाई उद्योगतिर जोड्ने काम गरिरहेको बताए ।