एचएलआई लार्ज क्याप फन्डको इकाई खरिदका लागि आवेदन दिने समय थप


काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फन्डको इकाई बिक्रीका लागि आवेदन दिने समय थप गरिएको छ ।

हिमालयन लाइफ कोष प्रवर्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजनाको ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेपख खुला भएको थियो ।

योजनाको इकाई खरिदका लागि भदौ १८ गतेसम्मको समय दिइएको थियो । अब भने भदौ २९ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसबिचमा मागभन्दा बढी सङ्ख्यामा आवेदन प्राप्त भएमा भदौ २९ अगावै कुनेपनि दिन सूचना प्रकाशित गरी निष्कासन तथा बिक्री बन्द गरिने योजना व्यवस्थापक हिमालयन इन्भेष्टमेन्ट बैंकरले जनाएको छ ।

योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रवर्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित राखेर बाँकी रहने २० करोड इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त सङ्कलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (आस्वा सदस्य)का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरूबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ ।