प्रसन्न ढुंगाना । लिस्बन, पोर्चुगल
पोर्चुगलको स्याउ खेतीको इतिहास निकै लामो र समृद्ध मानिन्छ । विशेष गरी मिन्हो, ट्रास–ओस–मोंन्तेस र रिबाटेजो ई ओएस्टे क्षेत्रहरूमा स्याउ खेतीको पुरानो परम्परा पाइन्छ ।
यी क्षेत्रहरूको अनुकुल जलवायु र माटोले स्याउ उत्पादनलाई मजबुत बनाउँदै आएको छ । ऐतिहासिक विवरणअनुसार पोर्चुगलमा स्याउ खेती १२ औं शताब्दीको मध्यतिर शुरू भएको हो । अल्कोबासा क्षेत्रमा सिस्टरियन भिक्षुहरूले मठीय कृषि अभ्यासको रूपमा स्याउका बोट रोपेका थिए । त्यसै अभ्यासलाई आधार बनाउँदै स्याउ खेती विस्तार हुँदै देशको कृषि परम्परामा गहिरो रूपमा स्थापित भयो ।
सन् १९६० को दशकमा भने स्याउ खेतीमा औद्योगिकीकरण शुरू भएपछि उत्पादन मात्र नभई गुणस्तरमा पनि उल्लेखनीय सुधार आएको थियो । सन् २०२३ मा पोर्चुगलले करिब २९२.२३ मिलियन किलोग्राम स्याउ उत्पादन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा अलिकति वृद्धि हो । रिबाटेजो ई ओएस्टे क्षेत्रले कुल उत्पादनको करिव ४० प्रतिशत योगदान दिएको छ भने ट्रास–ओस–मोन्तेसले ३० प्रतिशत, बीरा लिटोरलले १३ प्रतिशत र बीरा इन्टेरियोले १२ प्रतिशतको योगदान दिएका छन्। स्याउ मुख्यतया अक्टोबरदेखि डिसेम्बरसम्म फल्छ, जस समयमा बजारमा ताजा स्याउ आपूर्ति हुने गर्दछ र किसानहरूले भण्डारण तथा निर्यातका लागि तयारी गर्छन् । स्याउ खेतीले पोर्चुगलको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ ।
सन् २०२३ मा मात्रै पोर्तुगलले ७०.६९ मिलियन किलोग्राम स्याउ निर्यात गरेको छ भने ६४.७९ मिलियन किलोग्राम आयात पनि गरेको छ । यसले कृषकलाई रोजगारी सिर्जना गर्नुका साथै कृषि निर्यातमा महत्त्वपूर्ण स्थान दिलाएको छ । बजार मूल्य प्रतिकिलोग्राम एकदेखि दुई युरोसम्म हुने गरेको छ, जुन प्रजाति र गुणस्तरअनुसार फरक–फरक पर्छ ।
पोर्चुगलमा अहिले स्याउ टिप्न नेपालीहरु व्यस्त छन् । नेपाली र बङ्गाली कामदारसँगै पोर्चुगली किसानलाई स्याउ टिप्न भ्याई नभ्याई छ। हालैका तथ्याङ्क अनुसार पोर्चुगलको कृषि क्षेत्रमा मात्रै करिव ३० हजार नेपाली श्रमिक संलग्न रहेका छन् । उनीहरू प्रायः दक्षिणी क्षेत्रका ओडेमिरा, साओ टियोटोनियो र अल्मेइरिम जस्ता स्थानहरूमा स्याउ मात्र नभई बेरी, टमाटर, अंगुर तथा अन्य फलफूलको खेतीमा समेत व्यस्त रहेका छन् ।






























न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्