काठमाडाैँमा साउथ एसिया ट्रेड फेयर २०२६ जारी, अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिता


काठमाडौँ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित बिहीबारदेखि राजधानीमा शुरु भएको “साउथ एसिया ट्रेड फेयर २०२६” जारी छ ।

काठमाडाैँकाे प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा चलिरहेको सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलाले व्यवसायिक गतिविधि पुनः चलायमान बनाउन प्रमुख भूमिका खेलेको आयाेजकले जनाएकाे छ ।

देशमा देखिएका विभिन्न आर्थिक तथा व्यावसायिक परिस्थितिका कारण केही समय गुम्सिएर बसेका व्यवसायीहरू मेलामा उत्साहपूर्वक सहभागिताका जनाइरहेको मेला संयोजक सुमन महर्जनले बताए ।

इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि. द्वारा आयोजना तथा व्यवस्थापन गरिएको यस मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरो -इपीबी) को सहकार्य रहेको छ ।

यस कार्यक्रमलाई इन्डोर्स वाईका रूपमा भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ ।

कार्यक्रमका सहयोगी संस्थाहरूका रूपमा नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रीज मोरङ, ललितपुर चेम्बर अफ कमर्स, नेपाल–चाइना एक्जिक्युटिभ काउन्सिल, नेपाल कस्मेटिक व्यवसाय संघ तथा विश्व उद्यम सहायता फाउन्डेसन रहेका छन् ।

यस मेलाका साझेदारहरूमा अनलाइन पार्टनर इटिकेटनेपाल डट कम, बीटुबी पार्टनर विराट बजार, इन्टरनेट पार्टनर वल्र्डलिंक, लाइटिङ पार्टनर एक्जिविसन लाइट हाउस, सीसीटिभी पार्टनर जोडहनी ग्रुप, ई–कमर्स पार्टनर वन पसल प्राइभेट लिमिटेड, टेक्सटाइल पार्टनर नित्य ट्रेडिसनल र उद्यमी पार्टनर उद्यमी घर रहेका छन् ।

मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बनेको छ ।

व्यापारिक भेटघाट, फुड फेष्टिवल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन भइरहेको छ । नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्न मेलाले उल्लेख्य भूमिका खेलेको छ ।