अनेरास्ववियुद्वारा विद्यार्थीमाथि भएको आक्रमणको निन्दा, दोषीमाथि कडा कारबाहीको माग


काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जेनजी को शान्तिपूर्ण प्रदर्शन केही समयमै नरसंहारमा परिणत भएको घटनाप्रति दुःख व्यक्त गर्दै विरोध जनाएको छ ।

अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि गृह प्रशासनले गरेको निर्मम आक्रमणप्रति घोर निन्दा र भत्सर्ना गरेको छ । विज्ञप्तिमा सबै जिम्मेवार निकायको राजीनामा माग गर्दै उच्चस्तरीय छानबिन समिति गठन गरी निर्दोष बालबालिकाको हत्या गर्ने जो कोहीलाई समेत निर्मम कारबाहीको दायरामा ल्याउन जोड दिएको छ ।

संगठनले हालको परिस्थितिमा विद्यार्थीहरूको पक्षमा निर्बाध रूपमा उत्रिने जनाएको छ । साथै, घटनामा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको निशुल्क उपचार सुनिश्चित गर्न र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारले तत्काल कदम चाल्नुपर्ने अनेरास्ववियुको माग छ ।

त्यस्तै, घटनामा संलग्न दोषीमाथि कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिँदै अनेरास्ववियुले आफ्नो झण्डा एक सातासम्म झुकाएर शोक प्रकट गर्ने निर्णय पनि गरेको छ ।