काठमाडौँ। स्याङ्जा जिल्ला प्रशासन कार्यालयले जिल्लाभर कर्फ्यू जारी गरेको छ। राजनीतिक परिवर्तनको मागसहित जेनजीको नेतृत्वमा भाद्र २३ र २४ गते देशव्यापी आन्दोलन भइसकेपछि तोडफोड, आगजनी र लुटपाट जस्ता अवाञ्छित गतिविधि बढ्न थालेको भन्दै प्रशासनले आज (भाद्र २५) दिउँसो १२ बजेदेखि कर्फ्यू लागू गरेको हो।
जिल्ला प्रशासनले जारी गरेको अपिलमा आन्दोलनका नाममा सरकारी तथा निजी संरचना, सार्वजनिक सम्पत्ति र व्यक्तिको सुरक्षामा क्षति पुर्याउने अराजक, हिंस्रक र आपराधिक गतिविधि हुन थालेको उल्लेख गर्दै अब कुनै पनि बहानामा राज्य र नागरिकलाई क्षति पुर्याउनु दुर्भाग्यपूर्ण हुने चेतावनी दिएको छ।
हालको शून्य राजनीतिक अवस्थालाई उपयोग गर्दै केही अवाञ्छित तत्वले गतिविधि बढाएको उल्लेख गर्दै प्रशासनले जनतालाई संयमित रहन, सुरक्षाकर्मीलाई सहयोग गर्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। भिडभाड र भीड जम्मा गर्ने कार्य नगर्न र शान्त वातावरण कायम गर्न धैर्य धारण गर्न सबैलाई अपिल गरिएको छ।
जिल्ला प्रशासनले सम्भावित घटना वा गतिविधि देखेमा तत्काल जानकारी दिन आग्रह गर्दै नेपाल प्रहरी (१००, ९८५६०९०१६२), नेपाली सेना (९८४००९३५५१) र सशस्त्र प्रहरी बल (९८५१२७२५१८) का सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
प्रतिक्रिया दिनुहोस्