काठमाडौँ । नेपाली सेना सहित अन्य सुरक्षा निकायहरु देशैभर परिचालनमा रहँदा आज विहानदेखि दिउँसोसम्मको समयावधिमा उल्लेखनीय सफलता हात परेको छ।
महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाट प्रकरणमा संलग्न चार जनालाई विहान १० बजेदेखि दिउँसो १ बजेसम्मको सुरक्षा अपरेशनका क्रममा पक्राउ गरिएको छ।
त्यस्तै, डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको अवस्थामा नेपाली रुपैयाँ २ लाख ३२ हजार ५ सय र अमेरिकी डलर २ हजार ५ सय बरामद गरिएको छ।
सुरक्षा निकायले लुटपाटका क्रममा हराएका हतियारमध्ये थप एक नाल बरामद गर्न सफल भएको छ। यससँगै हालसम्म जम्मा ३२ नाल हतियार फिर्ता ल्याइएको छ।
यस्तै, डडेलधुरा जिल्ला कारागारबाट निस्केर फरार भएका कैदीबन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिन सुरक्षा फौज सफल भएको छ। काठमाडौँको डिल्लीबजारस्थित सदर कारागारमा भने भाग्ने प्रयासलाई रोक्दै कैदीलाई नियन्त्रणमा राखिएको छ।
सुरक्षा निकायले देशव्यापी अपरेशनलाई अझ सशक्त बनाइएको र शान्ति–सुरक्षामा चुनौती आउने गतिविधिहरुमाथि कडा निगरानी राखिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्