काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लोकतान्त्रिक प्रणालीभित्र नागरिकले सरकारप्रति असहमति जनाउने, खबरदारी गर्ने वा नयाँ सरकारको माग गर्नु स्वाभाविक अधिकार भए पनि राष्ट्र प्रतिको न्यूनतम कर्तव्य, जिम्मेवारी र जवाफदेहिता नबिर्सनुपर्ने बताएका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले लोकतन्त्र कुनै व्यक्तिको सत्ता प्राप्ति वा गुमाउने माध्यम मात्र नभई मुलुकको स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र संविधानको जिवन्ततासँग प्रत्यक्ष जोडिएको प्रणाली भएको प्रष्ट पारेका छन्।
“संसदबाट लोकतान्त्रिक विधि मार्फत बनेको अहिलेको सरकारले जेनजि पुस्ताको सडकको आवाजलाई सम्मान गर्दै नयाँ सरकार निर्माणको मार्ग प्रसस्त गरिसकेको छ। अब संसदले संविधान बमोजिम नयाँ सरकार निर्माण गर्नुपर्छ, जसको पहल र समन्वय सम्माननीय राष्ट्रपतिबाट छिट्टै हुनुपर्ने आवश्यकता छ,”उनले लेखेका छन् ।
बर्तौलाले कुनै पनि राजनीतिक समस्याको समाधान क्षणिक आवेग, उत्तेजना वा अल्पकालीन सोचका आधारमा नभई संविधानले तोकेको लोकतान्त्रिक बाटाबाट मात्र खोजिनुपर्नेमा जोड दिएका छन्।
उनले देशविरुद्ध संवैधानिक प्रणालीमाथि नै खतरा उत्पन्न हुने गरी भयानक षड्यन्त्र हुनसक्ने चेतावनी दिँदै सबैलाई सचेत रहन आग्रह गरेका छन्। साथै, तत्कालको व्यक्तिगत इगो वा स्वार्थमा नभई नेपालको दीर्घकालीन हित र सुन्दर भविष्य निर्माणमा सबैको ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्