प्रजातन्त्रको मूल आधारलाई छोडेर वा निषेधको राजनीतिमा अल्मलिएर पूर्वाग्रहबाट मुक्त हुन नसके ऐतिहासिक अवसर गुम्न सक्दछ: कमल थापा


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्रको मूल आधारलाई छोडेर वा निषेधको राजनीतिमा अल्मलिएर पूर्वाग्रहबाट मुक्त हुन सकेनौ भने यो ऐतिहासिक अवसर पनि गुम्न सक्ने बताएका छन् ।

विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर सबै राजनीतिक विचार, शक्ति र संस्थाहरु अटाउन सक्ने संरचनागत आधार र वातावरण तयार गर्न सक्यौ भने मात्र युवाहरुले परिकल्पना गरेको लक्ष्य प्राप्त हुने उनले उल्लेख गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमा यस्ताे लेखेका छन्ः

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निम्ति विगत एक दशकदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका थियौं। विभिन्न कारणले गर्दा हामी सफल हुन सकेनौँ।

अहिले ‘जेन-जी’ युवा पुस्ताले भ्रष्टाचारमा लिप्त शासन ढालेर ऐतिहासिक परिवर्तनको ढोका खोल्न सफल भएका छन् ‌। युवा विद्यार्थीहरूलाई म हार्दिक धन्यवाद र बधाई पनि दिन चाहन्छु।

यद्यपि यो अवस्थासम्म आइपुग्न नेपाली जनताले धेरै ठूलो जनधनको क्षति व्यहोर्नु पर्‍यो।अहिले पनि आन्दोलनको दौरान सहादत प्राप्त गरेका परिवारको आँसु सुकिसकेको छैन।महत्वपूर्ण राष्ट्रिय संरचना र सम्पदाहरूमा लागेको आगो निभिसकेको छैन।परिस्थिति अझै विषम, जटिल र तरल रहेको छ। यो अवस्थामा संयम, संवाद र एकता आवश्यक पर्दछ।

भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै सुन्दर, सबल र समृद्ध नेपाल निर्माण गर्ने फेरि एउटा ऐतिहासिक अवसर हाम्रो सामुन्ने आएको छ। विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर सबै राजनीतिक विचार, शक्ति र संस्थाहरु अटाउन सक्ने संरचनागत आधार र वातावरण तयार गर्न सक्यौ भने मात्र युवाहरुले परिकल्पना गरेको लक्ष्य प्राप्त हुन सक्दछ ‌। प्रजातन्त्रको मूल आधारलाई छोडेर वा निषेधको राजनीतिमा अल्मलिएर पूर्वाग्रहबाट मुक्त हुन सकेनौ भने यो ऐतिहासिक अवसर पनि गुम्न सक्दछ। यो ऐतिहासिक र संवेदनशील क्षणमा विगतमा किन असफल भयौं भन्ने बारे निष्पक्ष र इमान्दार समीक्षा गर्न युवाहरूमा म आग्रह गर्दछु।

युवाहरू अनुभवहिन छन्, राज्य सञ्चालनको ज्ञान छैन भन्ने भ्रम छर्दै आफ्नो निहित स्वार्थ र दुनो सोझ्याउन चाहनेहरूबाट युवाहरू सतर्क हुनुपर्दछ। हामी सक्दैनौँ भन्ने हिनताबाट मुक्त हुन म युवाहरूमा अपिल गर्दछु।संसारको इतिहासलाई हेर्ने हो भने २५/३० वर्षका युवाहरुले नै ऐतिहासिक परिवर्तनको नेतृत्व गरेका थुप्रै उदाहरणहरू छन्। अहिले चर्चामा रहेका कुनै पनि व्यक्तिहरूबाट जेन्जी युवा पुस्ताले सोचेको परिवर्तन सम्भव छैन। युवाहरूले आवश्यक ठानेमा अनुभव र ज्ञान भएका प्रौढहरूलाई सल्लाहकारको भूमिकामा राख्नु उपयुक्त हुनेछ।

विगतमा ‘कम्बल ओडेर घिउ खाने’ प्रवृत्ति बोकेकाहरूबाट युवाहरु विशेष रूपले सतर्क हुनुपर्दछ।

यस्तो तरल अवस्थामा देशी विदेशी शक्ति र स्वार्थ समूहले फाइदा उठाउन खोजिरहेका हुन्छन्। धमिलो पानीमा माछा मार्ने प्रवृति सधैँ देखिने गरेको छ।भ्रष्ट र अपराधीहरूले कानुनको कठघरामा उभिनै पर्दछ। सरकार विहिनताको अवधि जति लम्बिँदै जान्छ त्यति नै परिस्थिति जटिल बन्दै जानेछ।

म फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु-युवाहरुले नै वर्तमान अवस्थाको नेतृत्व लिनुपर्दछ। निषेधको राजनीति त्यागेर सनातन धर्म संस्कृतिको रक्षा गर्दै सबै नेपाली अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्नु पर्दछ, प्रजातन्त्रको बाटो छोड्नु हुँदैन ।