तोडफोड र आगजनीपछि भागेका कैदी–बन्दीलाई आत्मसमर्पण गर्न प्रहरीको आग्रह


काठमाडौं । नेपाल प्रहरीले देशभरका प्रहरी इकाई र कारागार कार्यालयहरूमा हालै भएको तोडफोड र आगजनीपश्चात् फरार भएका अभियुक्त र कैदी–बन्दीलाई स्वेच्छाले आत्मसमर्पण गर्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले आज जारी गरेको प्रेस विज्ञप्तिमा भदौ २३ गतेपछि भएका प्रदर्शनका क्रममा प्रहरी कार्यालय र कारागार तोडफोड हुँदा हिरासतमा रहेका अभियुक्त तथा अदालतले तोकिएको सजाय भुक्तान गरिरहेका कैदी–बन्दी निस्कन सफल भएको उल्लेख छ।

विज्ञप्तिमा उनीहरूलाई छिट्टै नजिकैको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई वा अन्य सुरक्षा निकायको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। प्रहरीका अनुसार भागेकाहरू स्वेच्छाले आत्मसमर्पण नगरे कानूनी कारबाही हुने चेतावनी पनि दिइएको छ।