काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्कालीन राजनीतिक अवस्थाप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
पार्टीले जारी गरेको तात्कालिक प्रस्तावमा सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेनजी पुस्ताको अनिवार्य सहभागितासहित सर्वपक्षीय सहमतिबाट अघि बढाइने प्रधानमन्त्रीका उम्मेदवारप्रति समर्थन रहने उल्लेख गरिएको छ।
रास्वपाले सो उम्मेदवारले वृहत् राजनीतिक अनुमोदन पाओस् भन्ने शुभेच्छा पनि व्यक्त गरेको छ।
संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूतिजस्ता आधारभूत लोकतान्त्रिक मूल्यमा पार्टीले कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै रास्वपाले संघीय व्यवस्थापिका दुई सदनात्मक हुने संविधानको धारा ८३ को स्मरण गराएको छ।
राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता कायम राख्दै अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको भन्दै आन्दोलनको म्यान्डेट र ताजा जनमतको सन्तुलन खोज्नुपर्ने धारणा पार्टीले प्रस्तुत गरेको छ।
रास्वपाले राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिइनुपर्ने अपेक्षा व्यक्त गरेको छ। साथै भदौ २३ गतेको आन्दोलनमाथि भएको दमन, त्यसपछि भएका मानवीय क्षति र सम्पत्तिमाथिका आक्रमण लगायतका घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्ने माग गरेको छ।
यस्तै, २०४६ पछिका उल्लेख्य भ्रष्टाचारका मुद्दाहरूमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने बताउँदै रास्वपाले नयाँ सरकार बनेको १५ दिनभित्र नै यस्तो आयोग गठन गर्नुपर्ने आव्हान गरेको छ।
प्रतिक्रिया दिनुहोस्