भट्टराईद्वारा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न समर्थन, संविधानमै टेकेर अघि बढ्न सुझाव


काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन-जी पुस्ताका युवाहरूले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई सिफारिस गरेको कदमलाई सकारात्मक र सही भएको बताएका छन्।

उनले कार्कीलाई देशले सहयोग र समर्थन गर्नुपर्नेमा जोड दिँदै आफूले पनि पूर्ण समर्थन र अग्रिम बधाई दिने बताएका हुन्।

उनका अनुसार वर्तमान संविधानकै जगमा टेकेर राष्ट्रपतिले संविधानका संरक्षकको भूमिकामा रही विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंकाको अन्त्य गर्नुपर्ने आवश्यकता देखिएको छ।

भट्टराईले यस प्रक्रियामा संविधानविद्हरू र जानकारहरूको सल्लाहमा संविधानसम्मत र लोकतान्त्रिक विधिबाट अघि बढ्नुपर्ने धारणा राखेका छन्।

यस प्रसङ्गमा उनले २०६९ सालमा खिलराज रेग्मीलाई अन्तरिम सरकारको नेतृत्वका लागि नियुक्त गरिएको नजीर अहिलेको परिस्थितिसँग मेल नखाने स्पष्ट पारे।

भट्टराईका अनुसार त्यतिबेला विद्यमान “अन्तरिम संविधान २०६३” भित्र राजनीतिक सहमतिका आधारमा कतिपय निर्णय गर्न सकिने प्रावधान थियो, र त्यहाँ ‘राजनीतिक सहमति भन्नाले सात दल र नेकपा (माओवादी) बिचको सहमति’ भन्ने स्पष्ट प्रावधान राखिएको थियो।

तर हालको संविधान भने निर्वाचित संविधानसभाबाट बनेको स्थायी संविधान भएकाले त्यसमा यस्ता विशेष प्रावधान नरहेको उनले उल्लेख गरेका छन्।

उनले भने, “यो संविधान ठूलो बलिदानीपूर्ण आन्दोलनको आधारमा संविधानसभाबाट बनेको नेपालको पहिलो संविधान हो। त्यसैले यसको जगमा टेकेर अघि बढ्नु नै जेन-जी को दीर्घकालीन हितमा हुनेछ।”