जेनजी विद्राेहपछिकाे आशा र नयाँ यात्राका चुनाैती


काठमाडौं । पछिल्ला दिनहरूमा काठमाडौंको सडकहरूमा उर्लिएको भीड, युवापुस्ताको गर्जन, र सामाजिक सञ्जालमा फैलिएको चर्को आवाज यी सबैले कुराले नेपाललाई अभूतपूर्व मोडमा पुर्‍यायो।

‘जेन–जी’ आन्दोलनले राजनीतिक शक्ति संरचनालाई हल्लाइदियो र देशको नेतृत्वमा नयाँ अनुहार चाहिन्छ भन्ने जनभावनालाई सडकमा ल्यायो। त्यसैको परिणामस्वरूप, शुशिला कार्कीले पहिलोपटक नेपालको प्रधानमन्त्री बन्ने गौरव प्राप्त गरिन्। यो केवल पदको फेरबदल होइन, इतिहासकै नयाँ अध्याय हो-जसमा महिला नेतृत्व मुलुकको शीर्ष तहमा स्थापित भएको छ।

कार्कीको जीवनयात्रा आफैंमा एउटा प्रेरणादायी कथा हो। सुदूरपूर्व नेपालको साधारण परिवारमा जन्मिएकी उनी बाल्यकालमै न्याय र समानताको कुरा सुन्ने गर्थिन्।

समाजमा महिला शिक्षाप्रति हुने विभेद र कानुनी ज्ञानप्रति सीमित पहुँचले उनलाई अझै दृढ बनायो। कानुन पढ्न उनी काठमाडौं आइन्, अनि यहीँबाट सुरु भयो उनको संघर्षपूर्ण यात्रा। कानुन अभ्यास गर्दै, कठिन परीक्षा र पेशागत बाधा पार गर्दै उनी सर्वोच्च अदालतसम्म पुगेकी थिइन्।

सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीशको रूपमा कार्कीको छवि कठोर र निडर थियो। शक्तिशाली नेतामाथि फैसलामा सम्झौता नगर्ने उनको साहसले उनलाई ‘निर्भीक महिला’को रूपमा चिनायो तर कठोरताको आवरणभित्र उनी संवेदनशील र सहृदय पनि छिन्। नजिकका साथीहरूले उनलाई परिवारप्रति समर्पित आमा र सरल जीवनशैली मन पराउने महिला भनेर वर्णन गर्छन्। उनका साथीहरूले भन्छन्, “उनी अधिकारमा कठोर थिइन्, तर व्यक्तिगत जीवनमा विनम्रता उनको ठूलो परिचय हो।”

प्रधानन्यायाधीशबाट प्रधानमन्त्रीसम्मको उनको यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, समाजले महिला नेतृत्वप्रति राखेको भरोसाको प्रमाण पनि हो। जनआन्दोलनले युवा पुस्तालाई प्रतिनिधित्व गर्ने नेतृत्व खोज्दा कार्कीको नाममा सहमति हुनु कुनै संयोग होइन। इमान्दार छवि, स्पष्ट दृष्टिकोण, र कानुनी अनुभवकै कारण उनी आज सिंहदरबारको शीर्ष सिँढीमा पुगेकी हुन्।

तर उनीसामु चुनौतीहरू कम छैनन्। पुराना राजनीतिक दलहरूको गहिरो जरा, आर्थिक समस्याको थुप्रो, र जेनजी आन्दाेलनले सिर्जना गरेको असाध्यै उच्च अपेक्षाले उनको नेतृत्वलाई निरन्तर परिक्षण गर्नेछ। अन्तर्राष्ट्रिय सम्बन्धमा समेत उनीलाई असाध्यै सन्तुलित भूमिका खेल्नुपर्नेछ।

यद्यपि यी सबै कठिनाइबीच पनि नवनियुक्त प्रधानमन्त्री कार्कीलाई आत्मविश्वास छ। प्रधानमन्त्री नियुक्त हुनुपूर्व कार्कीेले यदी देशको नेतृत्व गर्ने जिम्मा मलाई दिएमा जनताको विश्वासलाई टुट्न दिने छैन। पद मेरो लागी शक्ति होइन, जिम्मेवारी हो। न्याय, समानता र जवाफदेहिताका लागि म सँधै प्रतिवद्ध रहने बताएकी थिइन् ।

कार्की कानुन वा राजनीतिमा मात्रै सीमित नभएर समाजका अवरोध तोड्दै, संघर्ष र दृढताबाट सम्भावनाको शिखरमा पुगेकी एक निडर र हक्की स्वभावकी महिला हुन् । यही स्वभाव नै अहिले उनको प्रधानमन्त्री बन्नु नेपालका लाखौं महिलाका लागि प्रेरणाको स्रोत बनेको छ भने लाखौं युवाले सडकमा चिच्याएर खोजेको ‘नयाँ नेपाल’को आशा पनि अहिले उनको काँधमै टेकेको छ।

इतिहासले उनलाई अब केवल पहिलो महिला प्रधानमन्त्रीका रूपमा मात्र होइन, नयाँ युगको सुरुवात गर्ने नेतृत्वका रूपमा सम्झनेछ। तर, प्रश्न भने अझै बाँकी छ— के उनी आन्दोलनले देखाएको आशालाई व्यवहारमा परिणत गर्न सफल हुन्छिन्? उत्तर भविष्यले दिनेछ ।