काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूका कारण समाजमा उत्पन्न त्रास र असुरक्षाको अवस्थालाई गम्भीर ठहर गर्दै सम्बन्धित व्यक्तिहरू कारागार फिर्ता हुन आग्रह गरेको छ।
आयोगले प्राप्त जानकारी अनुसार बालसुधारगृहमा रहेका केही व्यक्तिहरू समेत सुधारगृहबाट भागेका छन्। यस घटनाले महिला, बालबालिका, निर्णयकर्ता र अपराध पीडित तथा तिनको परिवारमा मनोवैज्ञानिक असर पारेको आयोगले जनाएको छ। आयोगका अनुसार बाहिर निस्किएका केही कैदीबन्दीहरू सुरक्षा निकायको पहलमा नियन्त्रणमा लिइए पनि धेरै अझै कारागार प्रशासनको सम्पर्कमा छैनन्।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले भने, “सुरक्षा निकायले कैदीबन्दीहरूको खोजी कार्य तीव्र गर्नुपर्छ। मुलुकमा उत्पन्न विषम परिस्थितिमा कारागार फिर्ता भई कानुनी शासनको सम्मान गर्नु कैदीबन्दीहरूको दायित्व पनि हो।”
साथै, प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका नेपाल प्रहरीका हतियार र पोशाक अझै फिर्ता नहुँदा ती हतियार दुरुपयोग भएर हिंसात्मक गतिविधि हुन सक्ने जोखिम रहेको आयोगले औँल्याएको छ। आयोगले जनतालाई अपिल गर्दै यस्ता हतियार र पोशाकको दुरुपयोग भएको जानकारी भए सम्बन्धित निकायमा तुरुन्त खबर गर्नु नागरिकको दायित्व पनि रहेकाे जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्