काठमाडाैँ । भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा देशभर उद्योग, व्यवसाय र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। यस घटनापछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूलाई पुनर्निर्माण र अग्रसरता कायम राख्न आह्वान गरेका छन्।
ढकालले आफ्नो फेसबुक मार्फत आफ्नो व्यवसायिक यात्रा सानो लगानी र सीमित स्रोतबाट सुरू गरेकाे र दृढ अठोट, मेहनत र इमान्दारिताले आज आफ्ना उद्योगहरूले प्रत्यक्ष रूपमा २० हजारभन्दा बढी नेपालीलाई रोजगारी दिएकाे बताएका छन् ।
उनले भने, “मेरो आफ्नै आयोजनामा अनपेक्षित क्षति भए पनि आँशु पारेर बस्ने छुट छैन। यदि मैले हार मानें भने देशभरका उद्योगी–व्यवसायीको मनोबल गिर्नेछ।” ढकालले सामाजिक सञ्जालमा क्षतिग्रस्त उद्योग र व्यवसायका फोटो–भिडियो सार्वजनिक भएपछि व्यवसायीहरूको मनोबल कमजोर नपरोस् भन्ने उद्देश्यले यो सन्देश साझा गरेको बताए।
अध्यक्ष ढकालले सबै उद्योगी, व्यवसायी र उद्यमशीलहरूलाई क्षतिग्रस्त उद्योग–व्यवसाय पुनर्निर्माणमा जुट्न, थप लगानी गर्न र रोजगारी सिर्जना गर्न आह्वान गरेका छन्। उनले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मुख्य इन्जिन र उद्यमशीलतालाई रोजगारी तथा समृद्धिको स्रोतको रूपमा उल्लेख गर्दै ८१ प्रतिशत अर्थतन्त्रमा योगदान दिने र ८६ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बिना मुलुकको समृद्धि सम्भव नभएकाे बताए । उनले भेन, “हामीले नै देश बनाउनु छ र भावी पुस्तालाई आशा दिनु छ।”
ढकालले सबै उद्योगी–व्यवसायीलाई धैर्य, संघर्ष र मेहनतको माध्यमबाट क्षतिग्रस्त उद्योग–व्यवसाय पुनर्निर्माण गर्न आह्वान गरेका छन् । “विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने छ। फेरि उठ्नुछ, अघि बढ्नुछ र हाम्रो साहस र आत्मबलले भविष्यको पुस्तासम्म प्रेरणा छर्नेछ,”उनले भने ।
प्रतिक्रिया दिनुहोस्