जेन जी आन्दोलनमा दलका कार्यलयमा आगजनी, करोडौँको क्षति


काठमाडाैँ । जेन जी आन्दोलनका प्रदर्शनकारीको निशानामा सरकारी संरचना, राजनीतिक दलका कार्यलय, राजनितिक दलका नेताहरूको घर र व्यापारिक कम्प्लेसहरू परेका छन् ।

भ्रष्टाचार विरुद्धको आन्दोलनको नारा लिएर सडकमा उत्रिएका युवाहरूले भदौ २४ गते सिंहदरबार, संसद भवन लगायतका सरकारी संरचनासँगै देशका प्रमुख राजनितिक दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को कार्यलयमा तोडफोड तथा आगजानी गरेका हुन् ।

प्रदर्शनकारीले लगाएको आगोले सानेपामा रहेको नेपाली काँग्रेस र नेकपा एमालेको कार्यलय पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । कार्यलयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् भने कार्यलय खण्डहर बनेको छ । जलेको पार्टी कार्यलयका काँग्रेस कार्यकर्ताले पार्टीको झण्डा र विपी कोईरालाको तस्बिर अंकित झण्डा राखेका छन् ।

च्यासलमा रहेको नेकपा एमालेको पार्टी कार्यलय र पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यलयलाई पनि प्रर्दशनकारीले आगो लगाएर ध्वस्त बनाइदिएका छन् ।

बानेश्वरमा रहेको एकिकृत समाजवादीको कार्यलयमा भने तोडफोड मात्रै भएको छ । प्रदर्शनकारीले गरेको आगजानी र तोडफोडबाट दलहरुको महत्वपुर्ण दस्तावेजहरु नष्ट भएका छन् भने करोडौँ रुपैयाँको क्षति भएको छ । जलेका पार्टी कार्यलयहरु देखेर कार्यकर्ताहरु निराश हुँदै फर्किने गरेका छन् ।