काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डीन आर.टमसनले नेपालमा गठन भएको अन्तरिम सरकारलाई शुभकामना व्यक्त गरेका छन्।
राजदूत टमसनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शुभकामना दिँदै प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्कीको नियुक्तिपछि मुलुक शान्तिपूर्ण समाधानतर्फ अघि बढेकोप्रति स्वागत गरेका छन्। उनले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको योगदानको प्रशंसा गरेका छन्।
टमसनले हालैका दुखद घटनापछि नेपाली जनतासँग सहानुभूति प्रकट गर्दै नेपालको शोकमा आफूहरू पनि सहभागी रहेको उल्लेख गरेका छन्।
साथै उनले नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देलको भूमिकालाई विशेष उल्लेख गर्दै संक्रमणलाई सहज बनाउन र नागरिक सरकार पुनर्स्थापित गर्न दिएको योगदानलाई सम्मान गरेका छन्।
उनका अनुसार अन्तरिम सरकारले आगामी महिनामा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा अमेरिका नेपालसँग सहकार्य गर्न इच्छुक छ।
प्रतिक्रिया दिनुहोस्