चाडपर्व लक्षित यातायात व्यवस्थापन गर्न उच्चस्तरीय समिति गठन


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार सचिव केशव कुमार शर्माको उपस्थितिमा बसेको बैठकले चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्थापनका विभिन्न निर्णय गरेको छ।

बैठकले काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुहरूलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सक्ने वातावरण बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सरोकारवालालाई आग्रह गरेको छ।

त्यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयहरूको एकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने निर्णय भएको छ। साथै, ट्राफिक प्रहरीले आवश्यक पर्ने सामाग्री मन्त्रालय र सडक सुरक्षा परिषद् मार्फत उपलब्ध गराइनेछ।

बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियारलगायत सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नदिन तत्काल सूचना जारी गर्ने निर्णय पनि गरेको छ।

यात्रु व्यवस्थापनलाई सहज बनाउन यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरिएको छ।

सो समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षलगायत सरोकारवाला प्रतिनिधिहरू रहनेछन्।

यसका साथै, चाडपर्वमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच गर्न र आवश्यकता अनुसार यात्रु सहायता कक्ष स्थापना गर्न नाडा लगायतका संस्थाहरूसँग सहयोगको अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।