काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीको नाम टुंगो लगाएकी छन् ।
अर्थ मन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, गृह मन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्त भएका छन् ।
गृहमन्त्री नियुक्त अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने छन् भने घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय पनि दिने तयारी भएको छ । मन्त्रीमा नियुक्त तीनै जनाकाे शपथग्रहण भोलि बिहान हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
खनाल हालै मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका हैसियतमा प्रतिवेदन बुझाइसकेका छन् । उनी अर्थ सचिवका रूपमा पनि काम गरिसकेका छन् ।
अर्याल कानुन व्यवसायी हुन् । उनी विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनमार्फत चर्चामा आएका थिए । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए ।
घिसिङ भने ऊर्जा क्षेत्रमा चर्चित नाम हुन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा लोडसेडिङ अन्त्य गरेका घिसिङलाई केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा बर्खास्त गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्