काठमाडाैँ । जेन–जी आन्दोलनका कारण केही दिन असहज स्थिति पैदा भएपनि हाल होटेल, रेस्टुरेण्टदेखि एयरलाइन्स, ट्रेकिङ र ट्राभल व्यवसायसम्म सबै गतिविधि पूर्ववत अवस्थामा फर्किएका छन् । पहिलेकै अवस्थामा फर्किएसँगै दशैँ,तिहारको बेला पर्यटन क्षेत्र चयायमान हुने देखिएको छ ।
नेपाल होटेल संघ (हान) का अध्यक्ष विनायक शाहले पनि मुलुकको पर्यटन क्षेत्र फेरि सामान्य अवस्थामा फर्किसकेको र अब फेरि यो क्षेत्र माथि उठ्ने बताए । शाहकाअनुसार सरकारले पनि पर्यटन क्षेत्रलाई पूर्ण साथ दिएको छ र अब पर्यटकले बुकिङ रद्ध गर्नुपर्ने कुनै कारण छैन ।
नेपाल आउने पर्यटकलाई उनीहरुले खोजेको सेवा दिन पर्यटन क्षेत्रका सबै पक्ष तयार रहेको उनले बताए । अहिले चाडपर्वको बेला भएकाले पनि नेपालमा पर्यटक आउँदा धेरै रमाइलो गरेर जान सक्ने बताए । शाहकाअनुसार नेपाल आउने पर्यटकका लागि लक्षित गरेर विभिन्न चाडपर्वलक्षित प्याकेजहरू समेत ल्याउने तयारी भइरहेको छ । खासगरी भारत र चीनबाट आउने पर्यटकलाई अझ आकर्षित गर्न नयाँ योजना र स्किमहरू तयार भइरहेको छ ।
अध्यक्ष शाहकाअनुसार अहिले नेपालका होटलहरुको क्षमता वार्षिक रुपमा ३५/३६ लाख पर्यटकलाई सेवा दिन सक्नेछ । ती पर्यटकले विश्वस्तरको सुविधा नेपालमै पाउन सक्छन् । तर अहिले नेपालमा १२ लाख मात्रै पर्यटक आउने गरिरहेका छन् ।
अब यो पर्यटकको संख्यालाई बढाउन जरुरी छ । पोखरा, भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट अर्बौँ लगानीमा बनाइएकाले तिनको समेत उपयोग गरेर पर्यटक भित्राउन सक्नुपर्ने शाहले बताए । पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, व्यक्ति र साझेदारहरूको सहयोग र माया समेत महत्वपूर्ण भएको उनको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्