जनकपुरधाममा दसैँ मेलाका लागि तयारी तीब्र,आर्थिक सहयोग उठाएर मन्दिर तथा शक्तिपिठहरूको सजावट गर्ने


काठमाडाैँ । जनकपुरधामका दसैँ मेलाका लागि तयारी तीब्र पारिएको छ । नेपालीहरूको महान पर्व विजया दशमी शुरु हुन केही दिन मात्रै बाँकी रहेकोले दसैँ मेलाको लागि तयारी तीब्र पारिएको हो ।

दसैँलाई भव्य बनाउन यहाँका स्थानीय युवा क्लवहरू अहोरात्र खटिरहेका छन् । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहितका स्थानमा दसैँमा शक्तिस्वरुपा माता दुर्गाको पूजा अराधनाका गर्ने गरिएको छ ।

हाल उक्त पूजास्थलहरूमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान, सरसजावट गर्ने तयारी चलिरहेको छ । श्रीराम युवा कमिटी महासचिव विजय साहले दशैँलाई भव्य बनाउनको लागि तयारी गरिरहेको जानकारी दिए ।

उनले दसैँ मेलाको लागी स्थानीय व्यापारीहरूसँग आर्थिक सहयोग उठाएर मन्दिर तथा शक्तिपिठहरूको सजावट गर्ने बताए । उनले जेनजी आन्दोलनले दसैँलाई कुनै असर नगर्ने पनि बताए । आन्दोलन स्वरुप देशले नयाँ अन्तरिक सरकार पाईसकेकोले अब देश शान्तिपूर्ण भइसकेको बताए ।

महावीर युवा कमिटी अध्यक्ष दीपक साहले भने जेनजी आन्दोलनले दशैँ मेलामा आर्थिक संकलन गर्न कठिन भएको बताए। आन्दोलनका कारण व्यवसाय ठप्प भएको उनको भनाइ छ । आर्थिक सहयोग गर्न हाल सबै दाताहरू पछाडी हटेको उनले बताए ।

जनकपुरधाममा प्रत्येक वर्ष दर्जनौ स्थानमा दशैँ मेला लाग्दै आइरहेको छ । राजदेवी मन्दिर, बौधीमाई मन्दिर अतिरिक्त विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोक लगायतका स्थानमा लक्ष्मीको प्रतिमा स्थापना गरेर दशैँ मेलाको आयोजना गर्ने गरिएको छ ।