काठमाडौँ । राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (इन्टरनेशनल कार्ड नेटवर्क) अन्तर आबद्धताको शुभारम्भ भएको छ ।
राजत्व व्यवस्थापन सूचना प्रणालीमा इन्टरनेशनल कार्ड नेटवर्कको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस बनाउने जनाइएको छ ।
साथै चौविसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुनुका साथै राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री भई डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा लिएको छ ।
यो भुक्तानी प्रणालीबाट मास्टरकार्ड, भिसा कार्ड, अलि पे लगायतका अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमा आबद्ध कार्डहरू मार्फत नेपाल सरकार अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त गर्न सकिनेछ ।
यसले त्रिभुवन विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरूले सहजरुपमा यो सेवा लिन सक्नेछन् ।
यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्वन्धी राजस्व भुक्तानीमा सुरुवात भएता पनि आगामी दिनमा नेपाल सरकारका अन्य निकायहरूमा पनि विस्तार हुने उल्लेख गरिएको छ ।
नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा मुख्य सचिव एकनारायण अर्यालले बिहीबारबाट यसको सुरुवात गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्