राप्रपाले भन्योः राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राजनीति शक्तिहरुबीच नयाँ समभmदारी कायम गरेर अघि बढ्न प्रश्ताव गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग राखेका हुन् ।

उनले देशमा यति ठूलो समस्या हुँदा संसदले समाधान गर्न नसक्नुले नै संसद असफल भएको पुष्टि हुने जिकिर गरे । संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको उनकाे भनाइ छ । अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको उनले बताए ।

राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा शतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ । राप्रपाले भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग गरेको छ । सरकार मात्रै परिवर्तन गरेर जेन जीको बलिदान सफल र पूर्ण नहुने स्पष्ट पारेको छ ।

अध्यक्ष लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रवल बनेको बताए । उनले जेन जी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभइ भ्रष्टाचार र बेथितिका विरुद्ध भएको पनि बताए । आन्दोलनले नेपालमा दीर्घकालीन स्थायित्वका लागि, समृद्धि, श्रीवृद्धि र नेपाललाई वैदेशिक हस्तक्षेपबाट जोगाउनका लागि राजसंस्था आवश्यक रहेको पुष्टि भएको उल्लेख गरे ।

चाँडै नेपाली जनताले महशुस गरेर राजनीतिक र नेपाली जनताले राजसंस्थालाई अभिभावकीय रुपमा पुनःस्थापित गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । सबै शक्तिहरुका बीचमा नयाँ समझदारी गरेर देश निर्माणमा लाग्नुपर्ने उनकाे भनाइ छ । 

अध्यक्ष लिङदेनले प्रदेश सरकारमा पनि राप्रपा सांसदहरुले राजीनामा दिने बताए । प्रदेश सभा खारेज भएर जानुपर्ने उनकाे भनाइ छ । एउटा सरकार परिवर्तन गर्नेकुरा मात्रै आन्दोलनको उद्देश्य नभएको उनले बताए । अन्तरिम सरकार आफैँ संविधान बाहिरबाट आएपछि संविधान मरिसकेको उल्लेख गरे । अहिलेको सरकारले आँट गरेर जेन जी आन्दोलनको भावनाअनुसार प्रणालीमै सुधार गर्ने आँट गर्नुपर्ने बताए ।