काठमाडौं । अर्थमन्त्री डा.रामेश्वर खनालले पुँजीबजारमा देखिएका विसङ्गति तथा समस्या समाधानको लागि अध्ययन गर्न कार्यदल बनाएका छन् ।
पुँजी बजारमा देखिएका विसङ्गति तथा समस्याको अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि आवश्यक प्रणाली गत तथा प्रक्रियागत सुधारका ठोस सुझाव तयार पार्न एक कार्यदल गठन गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
असोज ३ गतेको आज बसेको अर्थमन्त्रीस्तरीय निर्णयानुसार गठित कार्यदलले ५० दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्नेछ।
कार्यदलको संयोजकमा धितोपत्र बोर्ड नेपालका कार्यकारी निर्देशक (का.मु.) रुपेश के.सी. नियुक्त भएका छन्। सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक (का.मु.) निरन्जन फुयाँल रहेका छन्। त्यस्तै, अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य–सचिवका रूपमा रहनेछन्।
कार्यदलले पुँजी बजारमा देखिएका संरचनागत कमजोरी, नियामकीय चुनौती, लगानीकर्ताको संरक्षण, कारोवारको पारदर्शिता, सूचना प्रवाह, प्राविधिक प्रणाली लगायतका पक्षमा अध्ययन गरी व्यावहारिक सुधारका लागि कार्ययोजना पेस गर्ने बताइएको छ।
सरकारले हालै पुँजी बजारमा देखिएका उतारचढाव र लगानीकर्ताबीच उत्पन्न नकारात्मक धारणा सम्बोधन गर्न यो कदम चालेको अर्थमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्