सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नै जेनजी आन्दोलनको प्रमुख कारण हाेः लिलामणी पोखरेल


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नै जेनजी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विद्यमान शासन प्रणालीभित्र बढ्दो अनियमितता, भ्रष्टाचार र बेरोजगारीका कारण युवामाझ निराशा चुलिएको बताए । उनका अनुसार सरकारमा रहने नेताहरु परिवारवादमा लिप्त हुँदा युवाहरू असन्तुष्ट बने र आन्दोलनमा उत्रिन बाध्य भए।

पोखरेलले संवैधानिक आयोग तथा राज्यका निकायहरुमा क्षमताको आधारमा नियुक्ति हुनुपर्नेमा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिले जनतामा आक्रोश बढाएको बताए । उनले भने, “सरकारले प्रतिस्पर्धा र क्षमताका आधारमा रोजगारी सिर्जना नगरी उच्च पदमा बस्ने नेताहरु आफ्ना छोराछोरीलाई मात्र अवसर दिन थाले। यो प्रवृत्तिका कारण जनतामा उकुसमुकुस बढ्दै गयो।”

युवाहरूले आफ्नो अभिव्यक्ति, अध्ययन र विचार साझा गर्ने माध्यमको रूपमा प्रयोग गर्दै आएको सामाजिक सञ्जाललाई सरकारले अचानक प्रतिबन्ध लगाएपछि आन्दोलन चर्किएको उनको तर्क थियो। “सामाजिक सञ्जालमार्फत सरकारका अनियमितता उजागर हुन थालेपछि यो कुरा नपचेको सरकारले प्रतिबन्ध लगायो, जुन सबैभन्दा ठूलो गल्ती भयो। त्यसैले युवाहरु सडकमा उत्रिए,” पोखरेलले भने।

सरकारले आन्दोलनमाथि गोली चलाएर दमन गरेपछि व्यवस्थाविरोधी र वैदेशिक शक्तिहरुले समेत त्यसमा हस्तक्षेप गरेको हुन सक्ने आशंका पोखरेलले गरे। उनले आन्दोलनको मूल उद्देश्य व्यवस्था परिवर्तन नभई भ्रष्टाचार अन्त्य गर्नु रहेको स्पष्ट पारे।

मुलुक राजनीतिक शून्यतामा रहेको भन्दै पोखरेलले पार्टी संगठनलाई बलियो बनाएर जनतामाझ जाने माओवादी केन्द्र दृढ रहेको पनि बताए।