विद्युत बक्यौता उठाउन प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी, हितेन्द्र भन्छन्: उर्जा मन्त्रीको निर्णय मान्छु


काठमाडाैँ । अर्बौं बाँकी विद्युत बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ ।

कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत बक्यौता उठाउनेसम्बन्धि पहिलो निर्णय गरेका थिए। सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

उनकाअनुसार सोमवार/मंगलवार नै बैठक बसेर बिजुली वक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । सोहीअनुसार कार्यान्वयनमा लगिनेछ । शाक्यले सरकारको निर्णय मानेरै वक्यौता उठाउन लाग्ने समेत बताए ।

“बक्यौतासम्बन्धि जुन मन्त्रीज्युको निर्णय छ । यसलाई हामीले कार्यानवयन गर्छौं । विद्युत प्राधिकरणको मन्त्रिज्यु नै अध्यक्ष हुने व्यवस्था छ । बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौं ।

बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं । बोर्डमा मन्त्रीज्यु नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोली अथवा पर्सीमै बोर्ड बैठक बस्छ,” उनले भने ।

बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको समेत बताए । 

कुलमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत बक्यौता उठाउन भनेर बक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला पनि बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिएका थिए ।

नेपाल बिद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ ।

प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ ।

उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै बिद्युत प्रयोग दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन् ।