नाडा प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता, अटोमोबाइल व्यवसायका चुनौतीबारे २२ बुँदे सुझाव पेस


काठमाडौँ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री शुसिला कार्कीसँग भेट गरी मुलुकको वर्तमान जटिल अवस्था र त्यसले अटोमोबाइल व्यवसायमा पारेको असरबारे विस्तृत छलफल गरेको छ।

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र मुख्य सचिव एकनारायण अर्यालको पनि उपस्थिति थियो।

भेटमा अध्यक्ष चौधरीले नाडा सातै प्रदेशमा क्रियाशील, सबै प्रकारका अटोमोबाइल वस्तुहरूको प्रतिनिधित्व गर्ने ४९ वर्ष पुरानो संस्था भए पनि सरकारलाई अझै पर्याप्त जानकारी दिन नसकिएको गुनासो गरे। उनले नाडाले अघि सारेका थोरै सुझावहरूलाई पनि सरकारले कार्यान्वयनमा ल्याए अटोमोबाइल व्यवसाय गतिशील बन्ने विश्वास व्यक्त गरे।

उनले व्यवसायीहरूको सुरक्षा, देशमा शान्ति र अमनचयन सुनिश्चित हुनु सबैभन्दा प्राथमिकता दिनुपर्ने बताउँदै व्यवसाय उत्थानका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने नाडाको प्रतिबद्धता प्रकट गरे। यस क्रममा उनले अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक नीतिगत सुधारका लागि २२ बुँदे सुझाव पनि प्रधानमन्त्रीसमक्ष पेश गरे।

त्यसमा बैंकमार्फत हायर–पर्चेज ऋणको प्रक्रिया सजिलो बनाउन हाल ६० प्रतिशत रहेको लोन–टु–भ्यालु अनुपात बढाएर ८० प्रतिशत पुर्‍याउनुपर्ने, नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ कार्यान्वयनका कारण देखिएका चुनौतीहरू समाधान गर्न वातावरण मन्त्रालयमा पेश गरिएका सुझावलाई सम्बोधन गर्नुपर्ने, साथै सरकारले गठन गरेको उद्योग प्रवद्र्धन परिषदमा नाडाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने जस्ता मागहरू समेटिएका छन्।

प्रधानमन्त्री कार्कीले व्यवसायीहरूले राखेका सुझावहरूलाई गम्भीरतापूर्वक मनन गर्ने बताउँदै आन्दोलनका कारण व्यवसायमा परेको क्षतिप्रति सरकार सजग रहेको उल्लेख गरिन्। आफू कानून व्यवसायी भएको नाताले उद्योग–व्यवसायका सबै विषयमा प्रत्यक्ष जानकारी नभए पनि नेपालमा प्रत्येक आन्दोलनको प्रताडना व्यवसायीले नै भोग्नु परेको बताए।

प्रधानमन्त्री कार्कीले व्यवसायीहरूसँग धेरै अनुभव हुने भएकाले सरकार मात्र रोजगारी दिन नसक्ने, निजी उत्पादनलाई उच्च प्राथमिकता दिइने, व्याजदरमा सहुलियत दिने, भन्सार शुल्क कम गर्ने, र उद्योगलाई प्रवर्द्धन गरेर मुलुकलाई आत्मनिर्भर बनाइने आश्वासन पनि दिइन्।

उनले वर्तमान सरकारले निर्वाचन र सुशासनलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै व्यवसायीहरूले पनि सरकारलाई सहयोग गर्न तयार रहेको सुन्दा गर्व लागेको टिप्पणी गरिन्।

भेटमा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाल पनि सहभागी थिए।