काठमाडाैँ । जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा जनकपुर भन्सार कार्यालय आगजनी, लुटपाट तथा तोडफोड भएको थियो । जसकारण भन्सार कार्यालयबाट हुने सबै काम ठप्प थिए ।
जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अवाकाअनुसार कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालबाट भन्सार जाँचपास यसअघि नै सुरू भइसकेको छ ।
असोज ५ गतेबाट मुद्दाका कामहरु समेत सुरू गरिएको छ । सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही छोटी भन्सार कार्यालय सञ्चालनमा आई सकेको सूचना अधिकारी अवाले जानकारी दिए।
जेनजी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा १३ करोड ८७ लाख ५० हजार बराबरको क्षति अवाले बताए । जनकपुरधामको रेल्वेस्टेशन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको थियो ।
गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्री नष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्