काठमाडाैँ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरुलाई दिगो विकाससँग जोड्न आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा बुधवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाका विषयहरु परिवर्तन भएपनि पुरानै ढंगबाट सूचना माग गर्ने प्रवृत्ति हटिनसकेको बताए ।
उनले सूचनाको माग गर्दा सार्वजनिक हितको विषय व्यक्तिगत सरोकारमा केन्द्रित हुँदा समस्या भइरहेको उल्लेख गरे । नागरिक जीवनमा परिवर्तन आउनेगरी सूचनाको सदुपयोग गर्न जरुरी रहेको उनकाे भनाइ छ । उनले प्रविधिको बढ्दो विकाससँगै सूचनामा सबैको पहुँच सुनिश्चित हुँदै गएको पनि बताए ।
उनले भने, “सूचनाका विषयहरु परिवर्तन हुँदै गएका छन् । यद्यपि हामी पुरानै ढंगबाट सूचनाको माग गर्ने र नागरिक चासोको विषयभन्दा व्यक्तिगत सरोकारका विषयमा बढी केन्द्रित भइरहेका छौं । वास्तवमा सूचनाको हक सार्वजनिक हितका लागि कसरी प्रयोग गर्न सकिन्छ र यसको उपयोगबाट नागरिक जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा जसरी उपयोग गर्नुपर्ने हो त्यसरी भइरहेको अवस्था छैन । हामीले जुन खालका सूचनाहरु माग गरिरहेका छौं ति सूचनाको बीचमा कति तालमेल भइरहेको छ भनेर हेर्नुपर्ने अवस्थामा पनि छौं । प्रविधिको यति धेरै विकास भएको छ कि कतिपय सूचनाहरु हामीले मागिरहनु नै पर्दैन । कतिपय नमागेका सूचनाहरु पनि सार्वजनिक निकायबाट प्रवाह भइ नै राखेका छन् ।”
उनले प्रविधिको विकासकै कारण कतिपय नमागेका सूचनाहरु समेत सार्वजनिक निकायहरुले प्रवाह गरिराखेको बताए ।
प्रतिक्रिया दिनुहोस्