बसाइसराईकै लागि विदेशिए २ लाख नेपाली


काठमाडौँ । नेपाल बाहिर नै बसोबास गर्ने गरि स्थायी र अस्थायी आवास अनुमति लिएर विदेशिने नेपालीको सङ्ख्या २ लाख नाघेको छ ।

अध्यागमन विभागले हालै तयार पारेको नेपालीहरूको आप्रवाससम्बन्धि तथ्याङ्कीय विश्लेषणअनुसार सन् २०२४ मा स्थायी बासिन्दा (पर्मानेन्ट रेसिडेन्स), अस्थायी बसोबास (टेम्प्रेररी रेसिडेन्स) र आश्रित (डिपेन्डेन्ट) भिसा कुल २ लाख १ हजार ५७१ व्यक्तिले देश छोडेका छन् ।

 यो सङ्ख्या सन् २०२३ को तुलनामा ९.६ प्रतिशतले बढी हो । विभागको विवरणअनुसार सन् २०२३  १ लाख ८३ हजार ८७७ ले बसाइसराई प्रयोजनकै लागि नेपाल छाडेका थिए ।

विदेशमा रहेका नेपाली परिवारलाई भेट्नका लागि सन् २०२४ मा १ लाख ३१ हजार ७९६ जना नेपाली विदेश प्रस्थान गरेका थिए । सन् २०२३ को तुलनामा यो सङ्ख्या केही घटेको हो । सन् २०२३मा विदेशमा रहेका परिवारलाई भेट्न १ लाख ६७ हजार ४८५ जना नेपाली विदेश गएका थिए । 

वैदेशिक रोजगारीमा जान्छन् साढे ८ लाख

अध्यागमन विभागका अनुसार सन्  सन् २०२४ मा  ८ लाख ५६ हजार ४२२ जना रोजगारीका लागि प्रस्थान गरेका थिए, जुन अघिल्लो वर्षको ८ लाख ०८ हजार ४१५ भन्दा करिब ४८ हजार बढी हो ।
यो नेपालबाट विभिन्न प्रयोजनका लागि विदेशिने नेपालीको ५१.१५  प्रतिशत हिस्सा हो । सन् २०२४ मा नेपालबाट विदेश गएका नेपालीहरूको संख्या १६ लाख ७४ हजार २२५ रहेको थियो ।

वैदेशिक रोजगारीमा गएका कुल नेपालीमध्ये झन्डै ९० प्रतिशत पुरुष रहेका छन् ।

अध्ययनका लागि १ लाख १० हजार
अध्ययन प्रयोजनकै लागि सन् २०२४ मा  १ लाख १९ हजार ४०९ जनाले नेपाल छाडेका छन् । सन् २०२३ मा यस प्रयोजनका लागि १ लाख ८ हजार ५४२ जना विदेशिएका थिए ।

पर्यटन/धार्मिक भ्रमण 

सन् २०२४ मा सन् २०२४ मा  २ लाख ७४ हजार ४२८ जनाले नेपाल छाडेका थिए । यो सङख्या सन् २०२३ को २ लाख७४ हजार ५१८ जना रहेको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार भ्रमणका उद्देश्यले जाने नेपालीहरूले मासिक ‍औसत २० अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् । यसमा अध्ययन र धार्मिक उद्देश्यले जाने नेपालीको खर्च जोडिएको छैन ।