आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना


काठमाडाैँ । आगामी २४ घण्टासम्म देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहने भएकाले अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान गरिएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागसहित मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्ने सम्भावना पनि रहेको छ।

मौसमविद्हरूले आगामी २४ घण्टासम्म हावाहुरी, चट्याङ र भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।