असोज १७ देखि २० गतेसम्म भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न प्रदेशमा आगामी असोज १७ गतेदेखि २० गतेसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको भन्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा विशेषगरी ठूलो वर्षा हुने देखिएको छ। यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

साथै, स-साना नदीहरूमा आकस्मिक बहावको जोखिम उच्च रहेको भन्दै काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा विशेष सतर्कता आवश्यक हुने चेतावनी दिइएको छ।

दसैँकाे माहोल समेत रहेका कारण मन्त्रालयले सुरक्षित रहन विशेष आग्रह गर्दै अनावश्यक यात्रा नगर्न, विशेषगरी रातको समयमा लामो दूरीको यात्राबाट जोगिन अनुरोध गरेको छ। साथै, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई वर्षा र बाटोको अवस्थाअनुसार सवारी साधन सञ्चालनमा आवश्यक निर्णय लिन र सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

पहिरो र डुबानको जोखिममा रहेका बस्तीहरूलाई सतर्क रहन, सुरक्षित स्थानबारे जानकारी लिन र आवश्यक परेमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिइएको छ। साथै, जोखिमयुक्त राजमार्ग र सडक क्षेत्रमा आवश्यक परे तुरुन्त परिचालन गर्न सकिने गरी डोजर, एक्साभेटर, लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न भनिएको छ।

प्राधिकरणले साझेदार संस्थाहरूसमेत जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही सतर्क रहन आग्रह गर्दै, असोज १७ देखि २० गतेसम्म हुने सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई सक्रिय र जिम्मेवार बन्न अपिल गरेको छ।