मुग्लिन–नारायणगढ सडकमा तुईन खोला नजिकै पहिरो, आवागमन एकतर्फी


काठमाडाैँ । आज बिहानदेखि भएकाे वर्षासँगै मुग्लिन–नारायणगढ सडक खण्डमा तुईन खोला पुल नजिकै पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ।

बिहान ७:१० बजेतिर खसेको पहिरोका कारण सो क्षेत्रमा यातायात हाल एकतर्फी मात्र सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ।

लगातारको वर्षाका कारण सो क्षेत्रमा अझै पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रुहरूलाई यात्रा अघि जानकारी लिएर मात्र हिँड्न र सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी अत्यधिक सावधानीका साथ यात्रा गर्न आग्रह गरिएको छ।

यसैबिच, मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो भने समयमै हटाइएकाले त्यहाँ यातायात सुचारु भएको सडक डिभिजनले स्पष्ट पारेको छ।