काठमाडाैँ । ललितपुरको जावलाखेलस्थित खेलमैदानमा आगामी असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म गोदावरी फूलको प्रदर्शनी हुने भएको छ। फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान) ले दीपावली र छठ पर्वलाई लक्षित गर्दै ‘१८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८२’ आयोजना गर्न लागेको हो।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ हुने यस प्रदर्शनीले गोदावरी फूलको व्यवसायिक विकास, विस्तार र प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाएको छ। फ्यानका अनुसार प्रदर्शनीमा करिब ८५ वटा स्टल रहनेछन्, जसमा ८० वटा व्यवसायिक, ३ वटा सूचनामूलक, एक प्रतिस्पर्धात्मक र एक सेल्फी स्टल समावेश छन्।
प्रदर्शनीमा नेपालमै उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूलका बिरुवासँगै यस वर्ष नयाँ भित्रिएका प्रजातिहरू पनि प्रदर्शन र बिक्री वितरण गरिने फ्यानले जनाएकाे छ । साथै, सयपत्री, मखमली, सिजनल फूलका बिरुवा, बिउबिजन, मलखाद र कृषि औजारसमेत प्रदर्शनीमा राखिनेछ। आयोजकले पाँच दिनसम्म चल्ने प्रदर्शनी अवलोकन गर्न ४२ हजारभन्दा बढी दर्शक आउने अनुमान गरेको छ भने १ करोड २० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छ।
यस वर्ष पनि गोदावरी फूलका मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ गरी चार विधामा प्रतिस्पर्धा हुनेछन्। उत्कृष्ट नर्सरी वा फर्मलाई शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरिनेछ। गोदावरी कट फ्लावर विधा र स्टल सजावटमा पनि प्रतिस्पर्धा हुनेछ।
नेपालमा सन् २०११ सालदेखि सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय अहिले सातै प्रदेशका प्रमुख सहरहरूसहित विभिन्न क्षेत्रमा फैलँदै गएको छ।
यस प्रदर्शनीमा विद्यार्थीले १०० रुपैयाँ, सर्वसाधारणले १५० रुपैयाँ तिरेर प्रवेश गर्न सक्नेछन् भने नागरिकता वा परिचयपत्र लिएर आउने जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिने व्यवस्था गरिएको छ। प्रदर्शनी असोज २८ गते बिहान ८ बजेबाट स्टल सजावटका लागि खुला गरिने र असोज २९ गते उद्घाटनपछि औपचारिक रूपमा संचालनमा आउने फ्यानले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्