काठमाडौं । बङ्गालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभाव नेपालभर फैलिएको छ।
अविरल वर्षाका कारण देशका ४० भन्दा बढी जिल्ला उच्च जोखिममा परेका छन्।
मौसमविद्हरूले असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको दर क्रमशः बढ्दै गएको छ र राति अझै तीव्र हुने सम्भावना छ। काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बाढीको सतह सतर्कताको तह नजिक पुगेको बताइएको छ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले भने, “काठमाडौँका विष्णुमती, बागमती, मनोहरा र नख्खु नदीहरूमा पानीको बहाव सतर्कता तहमा पुग्न लागेको छ। आज बेलुका र भोलि बिहानसम्म विशेष सतर्कता अपनाउन आवश्यक छ।”
मौसमविद्हरूले डुबानको जोखिम भएका स्थानमा यात्रा नगर्न, विशेष गरी नदी किनार र बाढी आउने सम्भावना भएका क्षेत्रहरूबाट टाढा रहन अनुरोध गरेका छन्।
बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुली लगायतका जिल्लामा वर्षा मध्यमदेखि भारीतर्फ उन्मुख छ भने मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीमा पनि भारी वर्षा भइरहेको छ।
अति उच्च जोखिममा रहेका जिल्लामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरू पर्छन्।
नेपालमा हरेक वर्ष बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याउने गरेको छ। अविरल वर्षाले नदी–नाला र खोला–खोल्सामा अचानक बहाव बढाउँदा डुबान र क्षतिको सम्भावना बढेको विभागले जनाएको छ।
विशेष गरी काठमाडौं उपत्यका, तराई र पूर्वी पहाडी जिल्लामा सतर्कता अझ बढी आवश्यक छ। असोज २० गतेसम्म वर्षाको दर उच्च रहने भएकाले उद्धार तथा राहत संयन्त्र तयारी अवस्थामा रहनुपर्ने चेतावनी विभागले दिएको छ।




प्रतिक्रिया दिनुहोस्