काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटोमा रोकिएका यात्रुहरूको व्यवस्थापन गर्न जिल्लास्तरीय निकायलाई निर्देशन दिएको छ।
प्राधिकरणले आज जारी गरेको पत्रमा हाल देशका विभिन्न भागमा चट्याङसहित भारीदेखि अति भारी वर्षा भइरहेको, जसका कारण बाढी, पहिरो र डुवानजन्य विपद् उत्पन्न भएको उल्लेख गरिएको छ।
यसै कारण असोज २० गते सोमबारसम्मका लागि लामो दूरीका सवारी साधनहरूको आवतजावत रोक लगाइएकोमा, सूचना जारी हुनु अघि नै यात्रा थालेका केही सवारी साधनमा रहेका यात्रुहरू बीच बाटोमै रोकिएको गुनासा आएको जनाइएको छ।
त्यस्ता यात्रुहरूलाई सुरक्षित स्थानमा राखी खानपान, स्वास्थ्योपचार लगायतका आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय तह, यातायात व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था र निजी क्षेत्रसँग समन्वय गर्न प्राधिकरणले निर्देशन दिएको छ।
यसैगरी स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरिएको छ भने नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई पनि यसबारे अवगत गराइएको छ।
प्रतिक्रिया दिनुहोस्