काठमाडौँ । गृह मन्त्रालयले निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा (Standby) राख्न आग्रह गरेको छ।
गृह मन्त्रालयले आज जारी गरेको पत्रअनुसार, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार १८ देखि २० असोजसम्म कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
यसका कारण आउन सक्ने बाढी, पहिरो र डुबानबाट प्रभावित व्यक्तिहरूको खोज, उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना कार्यमा सहयोग गर्न निजी हेलिकप्टर आवश्यक अनुसार परिचालन गर्न निर्देशन दिइएको छ।
यस कार्यका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र निजी हेलिकप्टर सञ्चालक संघबीच भएको सम्झौता बमोजिम, मन्त्रालयको लिखित वा मौखिक अनुरोधमा हेलिकप्टर परिचालन गर्नुपर्ने उल्लेख गरिएको छ।
गृह मन्त्रालयले यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक समन्वय र सहजीकरण गर्न समेत अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्