काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक अवस्थादेखि केही सकारात्मक परिदृष्यमा २.१ प्रतिशतमा खुम्चने विश्व बैंकले बताएको छ ।
बैंकले नेपालमा हालैको अशान्ति, बढेको राजनीतिक तथा आर्थिक अनिश्चितता र संरचनागत कमजोरीका कारण नेपालको आर्थिक वृद्धिदर नकारात्मक १.५ देखि २.६ प्रतिशतसम्म पनि पुग्न सक्ने जोखिम औंल्याएको छ।
बैंकको पछिल्लो दक्षिण एसिया विकास प्रतिवेदनमा नेपालमा भएको जेन-जी आन्दोलनले अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र कमी आउने, सार्वजनिक तथा निजी पूर्वाधारमा भएको क्षतिले बिमा क्षेत्रलाई ठूलो नोक्सानी पुर्याउने उल्लेख छ।
प्रतिवेदनमा लगानीकर्ताको मनोबल कमजोर हुँदा निजी लगानी र जलविद्युत बाहेकका निर्माण कार्यहरू प्रभावित हुने तथा प्रमुख धान उत्पादन हुने प्रदेशमा वर्षा ढिलो हुँदा कृषि क्षेत्रमा नकारात्मक असर पर्ने देखिएको जनाइएको छ।
प्रतिवेदनमा गत भदौमा नेपालले कैदशकौँयताकै सबैभन्दा खराब अशान्ति अनुभव गरेको चर्चा गरिएको छ। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धले भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शनलाई उचालेको, जसले व्यापक अशान्ति निम्त्याइ ठूलो मानवीय तथा आर्थिक क्षति पुर्याएको बैंकको ठहर छ।
“सार्वजनिक र निजी पूर्वाधारमा भएको क्षतिको मूल्याङ्कन जारी छ, जसले आर्थिक वातावरणलाई थप अनिश्चित बनाएको छ”- प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्