काठमाडौँ । एमाले निकट राष्ट्रिय युवा सङ्घले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र जेनजी आन्दोलनका अगुवाइ गरिरहेका सुदन गुरुङ नेतृत्व हामी नेपाल संस्थाको सम्पत्ति छानबिनको माग गरेको छ ।
महेश बस्नेतले गरेको पत्रकार सम्मेलनका क्रममा युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध नेपो बेबी ट्रेन्ड चलाउनुपर्ने भन्दै सम्पत्ति छानबिनको माग गरेका हुन् ।
उनले भने,“भ्रष्टाचार अन्त्य गरेर जाने हो भने राष्ट्रिय युवा सङ्घ नेपालले पनि अव बालेन शाह र उनका बाबुको सम्पत्ति छानबिन गर्ने, हामी नेपाल संस्थाको कति सम्पत्ति आयो ? आम्दानी कति छ ? त्यो सोच्छौँ ।”
बालेन शाहको बुवा समान्य कर्मचारी भएको भन्दै काठमाडौँमा घर र तराईमा जग्गगा कसरी आयो भन्दै गुरुङले माग गरेका थिए ।
जेनजी आन्दोलन बालेनले उठाएको र सुदन गुरुङले नेतृत्व गरेको भनिएको छ । यसमा एकमत भने देखिएको छैन ।
पछिल्लो समय जेनजी आन्दोलन दबाएको आरोपमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत पक्राउ गर्नुपर्ने दबाब बढेपछि युवा सङ्घ ‘काउन्टर’मा आएको हो ।
प्रतिक्रिया दिनुहोस्