काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले मंसिर १८ गतेभन्दा अगाडी नै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई अल्टिमेटम दिएका छन् ।
काठमाडौँमा आइतबार जबरा पक्षधर नेताहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिएका हुन् । महामन्त्री जबराले महाधिवेशन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाएका थिए ।
उनले वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल मंसिरको १८ गते सकिने भएकोले सो भन्दा अगाडी नै महाधिवेशनको मिति तोक्नुपर्ने बताए । मंसिरमा महाधिवेशन नगरे वर्तमान कार्यसमिति अवैध हुने उनको भनाइ छ । आइतबार बसेको भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरुको कारबाही फुकुवा हुनुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए ।
भेलाले देशमा भइरहेको वर्तमान परिस्थितिमा पार्टीको एजेण्डालाई अगाडी सार्नुपर्नेमा पनि जोड दिएको उनको भनाइ छ । संघीयता र गणतन्त्र खारेज गरेर देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने मागलाई अगाडी लिएर जानुपर्ने उनले बताए ।
उनले भने, “आज हाम्रो काठमाडौँ उपत्यकामा भएका केन्द्रिय कार्यसमितिका सदस्य र केही महत्वपूर्ण नेताहरुलाई पार्टीको, देशको विषयमा छलफल गरेर कसरी अगाडी जाने भन्ने अनौपचारिक भेला हो । भेलाले पार्टीमा एकता कायम गरेर पार्टीको महाधिवेशन जुन मंसिरमा हुने हो, त्यो मंसिरको महाधिवेशनको मिति तय गर्ने र जुन साथीहरुलाई भएको कारबाही भएको छ, निलम्बन भएको छ । त्यस्तो कुराहरुलाई पनि पार्टीले फिर्ता लिनुपर्छ । अब महाधिवेशन र आन्दोलन कै क्रममा हामीहरु जानुपर्छ भन्ने निष्कर्षमा हामीहरु पुग्यौँ । यो केन्द्रिय कार्यसमितिको समय १८ मंसिरमा समाप्त भईरहेको छ । १८ मंसिर भन्दा पहिले हामीले महाधिवेशनको तिथिमिति तोक्नुपर्ने आवश्यकता छ । नत्र हाम्रो समिति अवैध हुन्छ ।”
राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ । महाधिवेशन गर्नको लागि केन्द्रिय समितिको बैठक बोलाउन महामन्त्री जबराको समूहले दबाब दिन थालेको हो । पार्टीको केन्द्रिय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्