सम्मानजनक तलव र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्सहरु आन्दोलित


काठमाडाैँ । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलव सुविधाको माग राख्दै आन्दोलित भएका छन् ।

सरकारी मापदण्डभन्दा कम तलबभत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरुको तलव १५ देखि २० हजार रुपैयाँ मात्रै तलवभत्ता पाउने गरेका छन् । जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो ।

अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ । विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरु ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् ।

मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गरिन् । बिरामीहरुको असुविधाको लागि माफी माग्दै उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उनको अडान छ । 

उनले भनिन्, “हामीले रहरले आन्दोलन गरेका होइनौं । कतिधेरै बिरामीहरु अस्पताल आएर फर्किरहनु भएको छ । तर अस्पताल प्रशासनले हाम्रो मागको सुनुवाई नै गरेको छैन । हामी सन्तुष्ट नै छैनौं । हाम्रो तलबभत्ता र हाम्रो मेहेनतलाई नै अस्पतालले नजरअन्दाज नगरोस् भन्ने हाम्रो चाहाना हो ।”

नर्सहरूले सम्मानजनक तलव, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदा दिनुपर्ने उनको माग छ । यता अस्पताल स्रोतले भने तत्काल नर्स तथा स्वास्थ्य कर्मचारीको तलब पुनरावलोकन गर्ने अवस्था नरहेको बताएका छन् । अस्पतालका कमजोर आर्थिक अवस्थाका बाबजुद गण्डकी प्रदेशमध्ये सबैभन्दा राम्रो सेवासुविधा दिने प्रयास गरेको उनकाे भनाइ छ । 

उनले भने, “नर्सहरुलाई पाँचौं तहका कर्मचारी सरहको तलबभत्ता दिनु त राम्रो पक्ष हो । तर अहिले अस्पतालको जुन अस्पताल छ यसको कारणले आजकै दिनमा हामीले नर्समात्रै होइन  कुनैपनि स्वास्थ्य कर्मचारीको तलब रिभाइज गर्न सकिने अवस्था छैन । तर पनि हामीले अहिले प्रदेशभरको सबैभन्दा बेस्ट सेलरी अफर गरेका छौं । उहाँहरुलाई कसरी राम्रोभन्दा राम्रो सेवा दिएर अघि बढ्ने भन्ने कोशिसमै रहेका छौं ।”

नर्सहरुलाई राम्रो सेवासुविधा दिएर मुुलुकमै काम गर्ने वातावरण निर्माण अस्पताल सधैं प्रतिवद्ध भएर लागिपरेको उनको दाबी छ ।