काठमाडाैँ । स्याङ्जाकाे गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले ठूलो परिमाणमा अवैध पटका बरामद गरी नष्ट गरेको छ।
साेमबार बिहान करिब ८:४५ बजे अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरा जाँदै गरेको लु. २ ख. ३३६ नम्बरको ट्रकमा लुकाइ–छिपाइ ल्याइएका पटका फेला पारेको हो।
प्रहरीका अनुसार उक्त ट्रकमा राखिएका ९३१ प्याकेट सामान्य विस्फोटक पदार्थ (पटका) बरामद गरिएको थियो। बरामद गरिएका पटकामा TURKY Electric Crackers का ९०५ प्याकेट, Ground Chakkar का ६ प्याकेट र Lumba Bullet का २० प्याकेट रहेका छन्।
बरामद गरिएको पटका स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकारलगायतको उपस्थितिमा रोहबर राखी तत्काल नष्ट गरिएको प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले तिहार पर्व नजिकिँदै गर्दा अवैध पटका ओसारपसार तथा बिक्री वितरणमा निगरानी कडा पारिएको जनाएको छ। यस्ता गतिविधि जनजीवन र सुरक्षाका दृष्टिले जोखिमपूर्ण भएकाले प्रहरी प्रशासनले आवश्यक कानूनी कारबाही अघि बढाउने चेतावनी पनि दिएको छ।
प्रतिक्रिया दिनुहोस्