गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान


काठमाडाैँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन् ।

सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका हुन । नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र पीडितले उजुरी दिए प्रक्रिया अघि बढ्ने बताए ।

लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उनको भनाइ छ । गृहमन्त्री अर्यालकाअनुसार पहिला आदेशले चल्ने गरे पनि अहिले देश कानूनले चलिरहेको छ । भइरहेको कानून कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने जिकिर गरे । कुनै पूर्वाग्रह राखेर नभइ कानून, प्रमण, उजुरी हेरेर राज्य संयन्त्रले काम गर्ने दाबी गरे ।

उनले भने, “पहिला पहिला आदेशले हुन्थ्यो । अहिले कानूनले हुन्छ । जे छ, कानूनबमोजिम हुन्छ । भइरहेको कानून कार्यान्वयन हुन्छ । हस्तक्षेप कतै पनि हुँदैन । कानूनले आफ्नो कार्ष लिन्छ । बढो अर्ग्यानिक वेमा हुन्छ अब । कुनै पूर्वाग्रह राखेर पनि हुँदैन, प्रमाण हेरिन्छ, कानून हेरिन्छ । उजुरी हेरिन्छ । हाम्रा संयन्त्रहरुले त्यही हेरेर काम गर्दछन् । जहाँ प्रमाण छ, जहाँ कानूनले ठाउँ दिन्छ, त्यहाँ रिजल्ट देख्नुहुन्छ ।”

मन्त्री अर्यालले तोकिएको समयमा निर्वाचन हुने दाबी गरे ।