पर्सा । सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले वीरगञ्जबाट दुई किलोभन्दा बढी सुन र १० किलोभन्दा बढी चाँदी बरामद गरेको छ।
विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरको गोदाममा छापा मार्दा उक्त परिमाणको सुनचाँदी फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले बरामद गरिएको सुनचाँदी र नगद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको बताएको छ ।
प्रहरीकाअनुसार ‘भन्सार छली गरेर सुनचाँदी भित्र्याएको आशङ्कामा छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको सुनचाँदी व्यवसायी सङ्घमा मापन गर्दा सुन दुई हजार २५४.८६ ग्राम र चाँदी १० हजार ३५४।०७ ग्राम फेला परेको छ।
सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप ५५९.१० ग्राम र चाँदीजस्तो देखिने ५५० ग्राम पनि बरामद गर्नुका साथै सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारतीय रुपैयाँ ४१ हजार ६० पनि फेला परेको जानकारी दिएकाृे छ ।
बरामद सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको प्रक्रिया अघि बढाइने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले बताए ।
उनकाअनुसार ‘परीक्षणपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकेर आएपछि छानबिन प्रक्रिया अघि बढ्नेछ ।
राजस्व चुहावटसम्बन्धी सूचनाका आधारमा बरामद गरिएको सो सुनचाँदीबारे आवश्यक कागजात र स्रोतका आधारमा मुद्दा चलाउने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्