नेपाल एयरलाइन्सको काठमाडौं–ग्वाञ्जाओ उडान रद्द, यात्रुलाई वैकल्पिक व्यवस्था


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ का लागि निर्धारित काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरेको छ।

निगमका प्रवक्ता सुवास डाँगीले सोमबार विज्ञप्ति जारी गर्दै नियमित उडान तालिकाअनुसार उक्त मितिको उडान आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए। उनका अनुसार निगमले उक्त उडानका सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्ने भएको छ ।

नेपाल एयरलाइन्सले काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरमा नियमित उडान सञ्चालन गर्दै आएको छ। निगमका अनुसार, अक्टोबर १६ को काठमाडौं–ग्वाञ्जाओ उडानमा ६८ यात्रु र अक्टोबर १७ का लागि ग्वाञ्जाओ–काठमाडौं उडानमा ४१ यात्रुका टिकट बिक्री भइसकेका छन्।

त्यसैगरी, अक्टोबर २३ को काठमाडौं–ग्वाञ्जाओ र अक्टोबर २४ को ग्वाञ्जाओ–काठमाडौं उडानका लागि क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमले जनाएको छ।

निगमले यात्रु सङ्ख्या कम भएर उडान रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “उक्त उडान आन्तरिक कारणले रद्द गरिएको हो, यात्रु सङ्ख्या कम भएर होइन।”

निगमका अनुसार ग्वाञ्जाओ नेपालका लागि नयाँ गन्तव्य भएकाले सो मार्गको पूर्ण प्रचार–प्रसार भइनसकेको अवस्था छ। यात्रुहरूलाई सुसूचित गर्ने प्रक्रिया जारी रहेको र टिकट बुकिङ क्रमशः बढ्दै गएको निगमले जनाएको छ।

निगमले ग्वाञ्जाओ गन्तव्य प्रवर्द्धनमा सञ्चारमाध्यमलगायत सबैको सहयोगका लागि अनुरोधसमेत गरेको छ।