काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका छन् ।
सभापति देउवाले आज केन्द्रीय समितिलाई सम्बोधन गर्दै स्वास्थ्यको कारण देखाउँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको रुपमा काम गर्ने गरी तोकेको जानकारी दिएका हुन् ।
उनले सम्बोधनका क्रममा भने, “मेरो स्वास्थ्यको कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु ।”
सभापति देउवाले पार्टीको १५ औँ महाधिवेशनबाट पार्टीको नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने घोषणा पनि गरेका छन् ।
उनले भने,“आगामी १५ औँ महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नुहुनेछ त्यसमा द्धिविधा छैन ।”
जेनजी आन्दोलनपछि सभापति देउवा पहिलोपटक सार्वजनिक भएका हुन् । भर्दौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सभापति देउवा र उनी पत्नी आरजु राणा देउवामाथी कुटपिट भएको थियो ।
२४ गते भएको कुटपिटबाट दुबै जना घाइते भएका थिए । केन्द्रीय समिति बैठकमा राणा पनि सहभागि भएकी छन् । सभापति देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको पनि उल्लेख गरे ।
उनले जेनजी आन्दोलनका क्रममा भएको घटना नेपालको इतिहासमै एउटा डरलाग्दो दिनको रुपमा लिपिबद्ध हुने उल्लेख गरे ।
सभापति देउवाले घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका तथ्यहरूले पुष्टि गर्न थालेको उल्लखे गरे ।
उनले सम्बोधनका क्रममा भने,“ यसको यथासिघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्दछ । यो अनुसन्धान कसैलाई तत्कालिन नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । ”
प्रतिक्रिया दिनुहोस्