काँग्रेसले भन्योः सरकारले निर्वाचनको वातावरण बनाए निर्वाचनको तयारी शुरू गर्छौं


काठमाडौं । नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

बुधवार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचनमा जानबाट काँग्रेस पछि नहट्ने बताए । लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने धारणा राखे । यसका लागी सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने बताए ।

“अहिलेको परिस्थितिमा सभामुखको दायित्व र आगामी कदम कसरी अघि बढाउने भन्नेमा सुझाव लिनुभयो, वर्तमान सरकार र संसद विघटन दशैँअघि नै पार्टीको कार्य सम्पादन समितिको बैठकबाट असंवैधानिक कदम भएको भनिसकेका छौँ,” उनले भने, “लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौं । हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।”

उनले केन्द्रिय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताए ।