काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेका छन् ।
हुलास स्टील इण्डष्ट्रिज, अशोक स्टील, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् ।
उद्योगले विगतमा २८ किस्ताकाे सुविधा लिएर बक्याैता रकम भुक्तनी गर्ने बताएका थिए । केही बक्याैता रकम तिरेपनि केही गत वैशाखबाट किस्ता तिर्न छाडेका थिए । सरकार र प्राधिकरणकाे नेतृत्व परिवर्तन भएपछि उद्योगहरूले किस्ता तिर्न सुरू गरेका हुन् ।
डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।
उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकम किस्तामा तिर्न सुरू गरेकाे हाे ।
यस उद्योगले प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
अशोक स्टीलले १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेकोमा पहिलाे किस्ता बुझाएकाे छ । अशोकले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएको हो ।
सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुलको कुल ३ करोड ७७ लाख बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो ।
उद्योगले एकैपल्ट तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ बुझाएपछि जेठसम्मको किस्ता चुक्ता भएको छ ।
रोल्पा सिमेन्टको ९९ लाख १२ हजार बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो । ६ किस्ता तिरेपछि उद्योगले तिर्न छाडेको थियो । उद्योगले पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरी नियमित किस्ता तिर्ने अवस्थामा पुगेको छ । अब उद्योगको १७ किस्ता तिर्न बाँकी छ ।
त्यस्तै, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्